नुवाकोटको लिखुमा आज एकैदिन दुई ठाउँमा स्वास्थ्य शिविर
नुवाकोट, वैशाख २६ — नुवाकोटको लिखु गाउँपालिकामा शनिबार एकैदिन दुई स्थानमा बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। गाउँपालिकाले स्थानीय नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नसा तथा आँखा सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको जनाएको छ।
गाउँपालिकाका अनुसार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको प्राविधिक सहयोगमा नसा (न्युरोलोजी) सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। “समृद्ध लिखुको आधार कृषि, शिक्षा र पूर्वाधार” भन्ने नारासहित आयोजना गरिएको शिविरमा वरिष्ठ न्यूरोलोजिस्ट डा. राजू पौडेलले मस्तिष्कघात (स्ट्रोक) सम्बन्धी सचेतनामूलक कक्षा सञ्चालन गर्ने कार्यक्रम रहेको छ। साथै वरिष्ठ चिकित्सकहरूको टोलीले बिरामीको परीक्षण तथा आवश्यक परामर्श सेवा प्रदान गर्नेछ।
शिविरमा टाउको दुखाइ, माइग्रेन, शरीर पोल्ने, हातखुट्टा लाटो हुने, छारे रोगलगायत नसा सम्बन्धी विभिन्न समस्याको परीक्षण तथा उपचार परामर्श उपलब्ध गराइनेछ। साथै सुगर तथा रक्तचाप परीक्षणसमेत निःशुल्क गरिने गाउँपालिकाले जनाएको छ।
उक्त शिविर आज शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म क्षेत्रपाल माध्यमिक विद्यालय, चौघडामा सञ्चालन हुनेछ। थप जानकारीका लागि ९८५१३३०५२९ मा सम्पर्क गर्न सकिने जनाइएको छ।
त्यसैगरी, लिखु गाउँपालिका–६ स्थित सिद्धिगणेश आधारभूत विद्यालय, भट्टथोकमा आँखा शिविर आयोजना गरिने भएको छ। नेत्रधाम फाउन्डेसनको सहयोग तथा ज्वागल सामाजिक संस्थाको आयोजनामा हुने शिविरमा वरिष्ठ नेत्र विशेषज्ञ सम्यम बजिमायासहितको चिकित्सक टोली सहभागी हुनेछ।
आँखा शिविरमा आँखा परीक्षण, मोतिबिन्दु जाँच तथा चस्मा वितरणलगायत सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ।

