वरीयता विवादमा डा. मनोजकुमार शर्माविरुद्धको रिट दर्ता भएन
काठमाडौँ,बैशाख २५ — प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ।
वरीयता मिचिएको दाबी गर्दै दायर गरिएका छुट्टाछुट्टै रिट आज सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको हो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र डा. प्रेमराज सिलवाल ले रिट पेश गरेका थिए।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइराला का अनुसार ती रिट दर्ता नगरी दरपीठ गरिएको हो। संवैधानिक परिषद्ले बिहीबार डा. मनोजकुमार शर्मा लाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। रिट निवेदकहरूले उक्त निर्णय वरीयता क्रम मिचिएको र प्रथम दृष्टिमै त्रुटिपूर्ण रहेको जिकिर गरेका छन् ।

