पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : देशका विभिन्न स्थानमा वर्षाको सम्भावना



काठमाडौँ, वैशाख २६ — नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश, बागमती र गण्डकी प्रदेशसहित कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहेको छ ।

हाल कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ । साथै मधेश, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने जनाइएको छ । साथै अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ ।

तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने तथा ती प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्