बजेट विनियोजनमा मन्त्रालय धाउनुपर्ने अवस्था अन्त्य गर्न रास्वपाको पहल



काठमाडौं, वैशाख २४ — राष्ट्रिय स्वतन्त्र पार्टी ले आगामी बजेट विनियोजन प्रक्रियालाई व्यवस्थित बनाउन सांसदहरूले मन्त्रालय धाउनुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यसहित सरोकारवाला मन्त्रीहरूसँग छलफल गरेको छ।

बुधबार सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा आयोजित छलफलमा अर्थ मन्त्रालय र भौतिक योजना मन्त्रालयसँग सम्बन्धित बजेट विनियोजन तथा प्राथमिकताबारे सांसदहरूले धारणा राखेका थिए।

छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक योजना मन्त्री सुनिल लम्साल सहभागी हुनुहुन्थ्यो। रास्वपा सांसद राजिव खत्री ले विगतमा आफ्नो क्षेत्रका योजनाका लागि मन्त्रालय धाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै अब सांसद र मन्त्रीबीच सामूहिक छलफलमार्फत बजेट विनियोजन प्रक्रिया अघि बढाउन खोजिएको बताउनुभयो।

उहाँका अनुसार विकास योजनाको प्राथमिकता निर्धारण तथा बजेट व्यवस्थापनलाई पारदर्शी र सहज बनाउन यस्तो अभ्यास सुरु गरिएको हो। यसैबीच, सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद खत्रीले विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको अवस्था बारे पनि जानकारी दिनुभयो। उहाँले खानपिन र बसोबासको आधारभूत व्यवस्था राम्रो भए पनि उनीहरू मानसिक तनावमा रहेको बताउनुभयो।

विशेषगरी बालबालिकाको पढाइ र भविष्यको बसोबासबारे चिन्ता सुकुम्बासीहरूमा देखिएको उहाँको भनाइ थियो। सरकारले उनीहरूको व्यवस्थित पुनर्वासका लागि काम गरिरहेको पनि उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्