प्रधान न्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बैठक आज
काठमाडौँ, वैशाख २४ । संवैधानिक निकायका पदाधिकारी नियुक्तिको कानुनी बाटो खुलेसँगै भावी प्रधान न्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बैठक आज बेलुका ५ बजे बस्ने भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा हुने बैठकमा प्रधान न्यायाधीश सिफारिस मुख्य कार्यसूची रहने बताइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि परिषद्को गणपूरक सङ्ख्या र निर्णय प्रक्रियासम्बन्धी कानुनी अस्पष्टता हटेको थियो। त्यसलगत्तै परिषद् बैठक बोलाइएको हो।
पूर्व प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत उमेर हदका कारण चैत १७ गते अवकाश भएपछि सपना प्रधान मल्ल कायममुकायम प्रधान न्यायाधीशको जिम्मेवारीमा रहनुभएको छ। न्याय परिषद् सचिवालयले प्रधान न्यायाधीशका लागि योग्य ठहरिएका सपना प्रधान मल्लसहित छ जनाको नाम परिषद्मा पठाइसकेको छ।
वरिष्ठताको अभ्यासलाई निरन्तरता दिइए सपना प्रधान मल्लको नाम सिफारिस हुने सम्भावना रहेको चर्चा छ। तर परिषद्ले अन्य विकल्प रोजेमा सूचीमा रहेका अन्य न्यायाधीशमध्ये कसैलाई पनि सिफारिस गर्न सक्नेछ।
संवैधानिक परिषद्बाट सिफारिस भएपछि प्रस्तावित प्रधान न्यायाधीशले संसदीय सुनुवाइ पार गर्नुपर्ने संवैधानिक व्यवस्था छ। सुनुवाइ समितिले अस्वीकृत नगरेमा नियुक्तिको प्रक्रिया अगाडि बढ्नेछ।

