“आमा” सम्झिँदा रोकिएन आँसु : नुवाकोट दुप्चेश्वरमा भावनाले भरिएर धरधरी रोए शिक्षक-विद्यार्थी
• भरतसन्तोषी लामा
नुवाकोट,बैशाख २४ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकास्थित दुप्चेश्वर माध्यमिक विद्यालय, रामती बुधबार सामान्य विद्यालयजस्तो देखिँदैनथ्यो । कक्षाकोठाभन्दा बाहिर भावना बगिरहेका थिए ।प्रार्थनाको स्वर, विद्यार्थीको भीड र अभिभावकको उपस्थितिबीच विद्यालय परिसरमा एउटा यस्तो दृश्य देखियो, जहाँ शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधि सबैका आँखामा आँसु टिलपिल थिए ।कसैले खुलेर रोए, कसैले मुस्कानभित्र पीडा लुकाउन खोजे । तर त्यो दिन धेरैका आँखा ओभाना रहेनन् ।

“शिक्षामा जागरण, जीवनमा परिवर्तन” भन्ने मूल नारासहित शिक्षा, युवा तथा खेलकुद शाखा दुप्चेश्वर गाउँपालिकाले आयोजना गरेको दुईदिने व्यावहारिक उत्प्रेरणा कार्यक्रममा प्रशिक्षक हरिश वलीले सम्बन्ध, जिम्मेवारी र अभिभावकत्वको पाठ पढाइरहेका थिए ।कार्यक्रम केवल प्रशिक्षण थिएन, त्यो त मानवीय संवेदना र सम्बन्धको ऐना बनेको थियो । शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिबीच कस्तो सम्बन्ध हुनुपर्छ भन्ने अभ्यास गराइँदै गर्दा धेरैले आफ्नै जीवन सम्झिए ।
जब प्रशिक्षक वलीले एउटी आमाले आफ्ना सन्तानको भविष्यका लागि भोग्ने दुःख, संघर्ष र पीडाको कथा सुनाउन थाले, चउरभरी सन्नाटा छायो । शब्दहरू केवल भाषणजस्ता लागेनन्, ती उपस्थित प्रत्येक व्यक्तिको मनभित्र पुगे । मञ्चमा बसेका गाउँपालिकाका उपाध्यक्ष माकुरी तामाङ पटक–पटक भक्कानिए । आँसु रोक्ने प्रयास गर्दागर्दै उनले सलले आँखा पुछिरहे । उनको त्यो अवस्था देखेर चउरमा बस्ने धेरै शिक्षक, अभिभावक र विद्यार्थीसमेत भावुक बने । केही समयका लागि कार्यक्रम स्थल रोदनले भरिएको महसुस हुन्थ्यो ।
कार्यक्रमको सबैभन्दा मार्मिक क्षण त्यतिबेला बन्यो, जब अभिभावक गुमाएका एक विद्यार्थी आफ्नी कर्म दिने आमालाई माला लगाउन स्टेजमा पुगे । काँपिरहेको हातले माला लगाएर ती विद्यार्थी आमाको काखमा झम्टिए । आमाले पनि बालकलाई अँगालो हालेर रुन थालिन् । त्यो दृश्यले चउरभरि बस्ने धेरैलाई थामिनसक्नु बनायो । त्यतिबेला त्यहाँ केवल दुई जनाको कथा थिएन, त्यो हजारौँ संघर्षरत आमाहरूको कथा थियो ।

त्यसपछि सबै विद्यार्थीले आफ्नी आमालाई माला लगाउने कार्यक्रम भयो । कसैले टिफिन बक्स बोकेका थिए, कसैले आमाको हात समाएर स्टेज चढिरहेका थिए । सन्तानको भविष्यका लागि बिहानदेखि बेलुकासम्म संघर्ष गर्ने आमाको माया र त्याग सम्झाउने ती दृश्यले धेरै अभिभावक धरधरी रोए । विद्यालय परिसरमा आँसु, माया र सम्बन्धका भाव मिसिएर एउटा अविस्मरणीय वातावरण बनेको थियो ।
गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले कार्यक्रमले सबैको मन छोएको बताउँदै शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिबीचको निकट सम्बन्धले मात्रै राम्रो शैक्षिक वातावरण बन्न सक्ने धारणा राखे । “केवल पढाइले मात्र शिक्षा सुधारिँदैन, सम्बन्ध बलियो भयो भने मात्रै विद्यालय सुधारिन्छ,” उनले भने ।
शिक्षकहरुका अनुसार कार्यक्रमले सहभागीलाई आफ्नो जिम्मेवारी र अभिभावकत्वबोध गराएको छ । कार्यक्रममा सहभागी शिक्षकहरूले पनि आफूहरूले नयाँ ऊर्जा र कर्तव्यबोध महसुस गरेको प्रतिक्रिया दिएका छन् । दुप्चेश्वर गाउँपालिकाका १३ विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक सहभागी रहेको कार्यक्रम बिहीबारसम्म सञ्चालन हुनेछ ।


