तीन दिनपछि सञ्चालनमा आयो बिपी राजमार्ग
काभ्रे, वैशाख २४ । बाढीका कारण अवरुद्ध भएको बिपी राजमार्ग तीन दिनपछि पुनः सञ्चालनमा आएको छ । अस्थायी ‘डाइभर्सन’ निर्माण गरेपछि आज बिहानदेखि सवारी आवागमन खुलाइएको हो ।
जिल्ला प्रहरी कार्यालयले वर्षा निरन्तर भइरहेकाले अत्यावश्यक बाहेक यो मार्ग प्रयोग नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । गत सोमबार परेको वर्षापछि रोशी खोलामा आएको बाढीले सडक अवरुद्ध बनाएको थियो ।
प्रहरीका अनुसार वर्षा हुनेबित्तिकै रोशी क्षेत्रको करिब चार किलोमिटर सडकखण्डमा निर्माण गरिएका अस्थायी डाइभर्सनमा क्षति पुग्ने जोखिम रहने भएकाले बेला–बेलामा आवागमन रोक्ने गरिएको छ ।राजमार्ग बन्द हुँदा सवारीसाधनलाई धुलिखेल, काभ्रेभञ्ज्याङ, मङ्गलटार र सिन्धुलीको नेपालथोक क्षेत्रमा रोक्ने व्यवस्था गरिएको थियो ।
गत वर्षको बाढीपहिरोले चौकीडाँडा, रोशी र सिन्धुलीको नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक बगाएपछि खोलामै डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन गरिँदै आएको छ । हाल उक्त क्षेत्रमा सडक पुनर्निर्माणको काम जारी रहेको जनाइएको छ ।

