मौसममा बदली, विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, वैशाख २४ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै नेपालको पूर्वी भूभाग नजिक रहेको तल्लो वायुमण्डलीय न्यूनचापीय क्षेत्रको असर देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
महाशाखाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । साथै तराईका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति भने कोशी प्रदेशलगायत देशका हिमाली क्षेत्रमा सामान्य बदली रहने तथा अन्य भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
त्यसैगरी, मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

