संसद् बैठकमा विद्युतीय हाजिरीका लागि सांसदबाट बायोमेट्रिक विवरण सङ्कलन सुरु
काठमाडौँ,बैशाख २४। सङ्घीय संसद्का सदस्यहरूले प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू गर्न आवश्यक बायोमेट्रिक (जैविक) विवरण दिन सुरु गर्नुभएको छ ।
संसद् सचिवालयले दुवै सदनका बैठकमा उपस्थितिको अभिलेख विद्युतीय माध्यमबाट राख्ने उद्देश्यले सांसदहरूलाई बायोमेट्रिक विवरण उपलब्ध गराउन आग्रह गरेको हो । सचिवालयले आजदेखि वैशाख २८ गतेसम्म सिंहदरबारस्थित विभिन्न समितिका कार्यालयमा उपस्थित भई विवरण उपलब्ध गराउन अनुरोध गरेको जनाएको छ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार यसअघि नयाँ बनेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जडान गरिएको विद्युतीय हाजिरी प्रणाली ‘जेनजी आन्दोलन’का क्रममा नष्ट भएपछि पुनः विवरण सङ्कलन गर्नुपरेको हो ।
उहाँले पहिलो चरणमा प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू गरिने तथा क्रमशः संसदीय समितिका बैठकहरूमा समेत विस्तार गरिने जानकारी दिनुभयो । यही वैशाख २८ गते अपराह्न २ बजेदेखि दुवै सदनका बैठक बस्ने कार्यसूची रहेको छ ।

