असार ३ गते रातो मच्छिन्द्रनाथको रथ तानिने
काठमाडौं,बैशाख २४ । नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथ जात्रा अन्तर्गत रथ तान्ने साइत आउँदो असार ३ गते बुधबारका लागि जुरेको छ ।
ललितपुरको मंगलबजारस्थित सोह्रखुट्टे पाटीमा बिहीबार बिहान ज्योतिषहरूले मच्छिन्द्रनाथको रथ पश्चिम दिशातर्फ तान्ने साइत निर्धारण गरेका हुन् । यस वर्ष मलमास परेकाले असार ३ गतेलाई रथ यात्राका लागि उत्तम साइत ठहर गरिएको जनाइएको छ ।
गत वैशाख ८ गते पुल्चोकबाट सुरु भएको रथयात्रा गाःबहाल, सुन्धारा हुँदै लगनखेल पुर्याइएको थियो । निर्धारित साइतअनुसार अब रथलाई लगनखेलबाट तानेर जावलाखेल पुर्याइनेछ ।
जावलाखेल पुगेको चौथो दिन परम्परागत रूपमा भोटो देखाउने जात्रा आयोजना गरिनेछ । उक्त जात्रासँगै यस वर्षको रातो मच्छिन्द्रनाथ रथयात्रा सम्पन्न हुने विश्वास गरिएको छ ।

