काठमाण्डौका १९ सुकुम्वासी बस्ती हटाउँदा १५ हजारभन्दा बढी विस्थापित
काठमाडौं,बैशाख २४ । काठमाण्डौका विभिन्न १९ वटा सुकुम्वासी बस्ती खाली गराउँदा १५ हजार ३ सय १६ जना विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डौका अनुसार विस्थापितमध्ये ६ हजार ८५८ पुरुष, ५ हजार ३२५ महिला, १ हजार ४३७ बालक र १ हजार ६९६ बालिका रहेका छन् ।
सङ्घीय सरकारले स्थानीय तहसँगको समन्वयमा वैशाख १२ गतेदेखि काठमाण्डौका विभिन्न क्षेत्रमा डोजर प्रयोग गरी बस्ती हटाउने अभियान चलाएको हो । प्रशासनका अनुसार हालसम्म २ हजार ६८७ घरटहरामा डोजर चलाइएको छ ।
तथ्याङ्कअनुसार ८९० वटा पक्की र १ हजार ७९७ वटा कच्ची घर भत्काइएका छन् । सरकारको अभियान अन्तर्गत थापाथली, गैरीगाउँ, मनोहरा, कालोपुल, बल्खु, वंशीघाट, शङ्खमूल, कालीमाटी, बालाजु, स्वयम्भू, गौशाला, धोबीखोला, तेन्जिङचोक, कृष्ण मन्दिर, कपन र साततले लगायतका क्षेत्रमा रहेका बस्ती हटाइएको प्रशासनले जनाएको छ ।

