पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा
काठमाडौँ,बैशाख २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको आरोपमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार विमानस्थल निर्माणका क्रममा मूल सम्झौताविपरीत ठेकेदार कम्पनीलाई कर छुट दिँदै आर्थिक अनियमितता गरिएको ठहर गर्दै आरोपपत्र दर्ता गरिएको हो । आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरिएको जानकारी दिनुभयो ।
मुद्दामा तत्कालीन अर्थमन्त्री कार्कीसँगै तत्कालीन अर्थसचिव शङ्करप्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, तत्कालीन सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव केबल भण्डारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम, निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी तथा इन्जिनियर योगेश अर्याललाई प्रतिवादी बनाइएको छ ।
यस्तै, आयोगले चिनियाँ निर्माण कम्पनी सिएएमसी, त्यसका अध्यक्ष, परियोजना व्यवस्थापक र कम्पनी व्यवस्थापकविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।

