सरकारी बैंकका सबै अध्यक्षले दिए पदबाट राजीनामा
काठमाडौं,बैशाख २४ । सरकारी लगानी भएका सबै बैंकका अध्यक्षहरूले पदबाट राजीनामा दिएका छन् । सरकारले सार्वजनिक संस्थानमा राजनीतिक नियुक्ति पाएका पदाधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेपछि बैंकका अध्यक्षहरूले सामूहिक रूपमा राजीनामा दिएका हुन् ।
अर्थ मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय वाणिज्य बैंक का अध्यक्षसहित सबै सञ्चालकले राजीनामा दिएका छन् । यस्तै कृषि विकास बैंक र नेपाल बैंक मा भने अध्यक्षहरूले मात्र राजीनामा दिएका हुन् ।
राष्ट्रिय वाणिज्य बैंक को अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक देवकुमार ढकाल रहेका थिए । बैंकका सञ्चालकमा थानप्रसाद पँगेनी, लक्ष्मण घिमिरे, रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, सूर्यबहादुर राना र हरिकुमार सिलवाल रहेका थिए ।
सरकारको पछिल्लो निर्णयसँगै सार्वजनिक संस्थान र सरकारी लगानी भएका बैंकहरूमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।

