यसकारण डा. शर्मा प्रधानन्यायाधीशमा सिफारिस



काठमाडौं,बैशाख २५ । सरकारले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्नुको कारण खुलाउँदै उहाँ सबैभन्दा उपयुक्त पात्र रहेको जनाएको छ ।

सर्वोच्च अदालतमा वर्षौँदेखि थाती रहेका मुद्दाको बोझ कम गर्दै न्याय सम्पादनलाई गतिशील बनाउन सक्ने नेतृत्वको खोजी भइरहेका बेला संवैधानिक परिषद्ले न्यायाधीश डा. शर्मामा उक्त क्षमता देखेर प्रधानन्यायाधीशमा सिफारिस गरेको बताइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको परिषद्को बैठकले न्यायपालिकाको इतिहासमै पहिलोपटक विद्यावारिधि गरेका तथा मुद्दा फछ्र्योटमा सर्वाधिक उच्च रेकर्ड कायम गरेका डा. शर्मालाई न्यायालयको सर्वोच्च जिम्मेवारी सुम्पिने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/०८१) अवधिको कार्यसम्पादन मूल्याङ्कन गर्दा डा. शर्मा समकालीन न्यायाधीशहरूको तुलनामा निकै अगाडि देखिनुभएको छ ।

सर्वोच्च अदालतको तथ्याङ्कअनुसार प्रधानन्यायाधीशका लागि प्रस्तावित न्यायाधीशहरूमध्ये डा. शर्माले ७ हजार ३ सय ८८ मुद्दा तथा निवेदनको अन्तिम टुङ्गो लगाउनुभएको छ । यो संख्या अन्य प्रस्तावित न्यायाधीशहरूको तुलनामा सबैभन्दा उच्च रहेको जनाइएको छ ।

पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा मात्रै उहाँले २ हजार १ सय ८१ मुद्दा किनारा लगाउनुभएको थियो । प्रस्तावित न्यायाधीशहरूमध्ये ७ हजारभन्दा बढी मुद्दा फछ्र्योट गर्ने उहाँ एक्लो न्यायाधीश रहेको सचिवालयले जनाएको छ ।

यसले न्याय सम्पादनमा उहाँको सक्रियता, दक्षता र गतिलाई पुष्टि गर्ने सरकारको दाबी छ । कानुनमा विद्यावारिधि गरेका डा. शर्माको सिफारिसलाई न्यायपालिकामा सुधार र प्रभावकारी नेतृत्वको सन्देशका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्