विभिन्न जिल्लाबाट लागुऔषधसहित ११ जना पक्राउ
काठमाडौं,बैशाख २५ । नेपाल प्रहरीले देशका विभिन्न जिल्लाबाट अवैध लागुऔषधसहित ११ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार चितवन, मकवानपुर, मोरङ, ताप्लेजुङ र बाराबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चितवनको भरतपुर महानगरपालिका–९ काँडाघारी टोलबाट तीन जना पक्राउ परेका छन् ।
यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङबाट एक जना, मोरङको पथरीशनिश्चरे नगरपालिका–४ मिलन चोकबाट तीन जना, ताप्लेजुङको फुङलिङ नगरपालिका–२ बाट तीन जना तथा बाराको निजगढ नगरपालिका–११ बाट एक जना पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरूबाट विभिन्न प्रकारका अवैध लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

