डिजेलका सवारी प्रदूषण मापदण्डविपरीत
काठमाडौँ, वैशाख २५ । काठमाडौँ उपत्यकामा डिजेलबाट चल्ने सवारीमध्ये ७१ प्रतिशत वायुप्रदूषणको मापदण्डविपरीत रहेको पाइएको छ । काठमाडौँ महानगरपालिकाले गरेको चेकजाँचमा ५४० डिजेल सवारीमध्ये ३८५ वटा फेल भएका हुन् ।
महानगरका अनुसार पेट्रोलबाट चल्ने सवारीमा भने प्रदूषण कम देखिएको छ । ५७५ वटा पेट्रोल सवारीमध्ये ५३९ वटा पास हुँदा ३६ वटा मात्रै फेल भएका छन् । अत्यधिक प्रदूषण गर्ने एक सवारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर ३३ सवारीलाई जरिबाना गरेको छ ।
चालु आर्थिक वर्षमा हालसम्म १ हजार ११५ सवारीको प्रदूषण परीक्षण गर्दा ४२१ वटा मापदण्डविपरीत भेटिएका छन् । गत पुसमा गरिएको परीक्षणमा पनि ५३ प्रतिशत सार्वजनिक सवारी प्रदूषण मापदण्डविपरीत रहेको थियो ।
वातावरण विभागका अनुसार काठमाडौँ उपत्यकाको वायुप्रदूषणमा सवारीसाधनको योगदान ३४ प्रतिशत रहेको छ । बागमती प्रदेशमा झन्डै २२ लाख सवारी दर्ता रहेका छन् भने उपत्यकाभित्र दैनिक करिब १३ लाख सवारी सञ्चालन हुने गरेका छन् ।

