सांसदलाई विद्युतीय हाजिरी
काठमाडौँ, वैशाख २५ । सङ्घीय संसद् सचिवालयले संसद् सदस्यहरूको विद्युतीय हाजिरी प्रणाली व्यवस्थित गर्न ‘बायोमेट्रिक’ विवरण सङ्कलन सुरु गरेको छ । सचिवालयले वैशाख २४ देखि २८ गतेसम्म प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूको बायोमेट्रिक विवरण लिने जनाएको छ ।
सचिवालयका प्रवक्ता एकराम गिरी का अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा आगलागी हुँदा नयाँ बानेश्वरस्थित संसद् भवनमा क्षति पुगेको थियो । त्यसक्रममा विद्युतीय हाजिरी प्रणाली सञ्चालन गर्ने प्रविधिसमेत नष्ट भएपछि नयाँ प्रणाली व्यवस्थापनका लागि बायोमेट्रिक विवरण सङ्कलन थालिएको हो ।
प्रवक्ता गिरीले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ बाट निर्वाचित सदस्यहरूको बायोमेट्रिक लिन बाँकी रहेकाले अहिले सबै सदस्यको विवरण सङ्कलन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रविधिमैत्री उपस्थितिको गणना तथा सभा सञ्चालनलाई व्यवस्थित बनाउन यो प्रक्रिया उपयोगी हुने अपेक्षा गरिएको छ ।
सचिवालयले वैशाख २४ गते विभिन्न संसदीय समितिका सदस्यहरूको बायोमेट्रिक सङ्कलन गरिसकेको जनाएको छ । त्यसैगरी वैशाख २५ गते कृषि, पूर्वाधार, महिला तथा सामाजिक मामिला र राज्य व्यवस्था समितिका सदस्यहरूको विवरण सङ्कलन गरिनेछ ।
यस्तै, वैशाख २८ गते सार्वजनिक लेखा समिति तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरूको बायोमेट्रिक विवरण लिने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

