पश्चिमी वायुको प्रभावः देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाकाे सम्भावना



काठमाडौं, वैशाख २५ । देशभर पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बदली रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । तराईका अधिकांश क्षेत्रमा भने आंशिक बदली रहेको छ ।

आज दिउँसो कोशी र मधेश प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ । कोशी प्रदेशसहित अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, मधेश प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने सम्भावना रहेको छ भने बाँकी तराई क्षेत्रमा हल्का वर्षा हुन सक्ने बताइएको छ । उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

आज राति पनि हिमाली तथा पहाडी भू–भागमा बदली कायम रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्