नुवाकोटमा हुलाकमार्फत घरमै राहदानी सेवा सुरु
नुवाकोट,बैशाख २५ । नुवाकोटमा अब राहदानी घरमै प्राप्त गर्न सकिने भएको छ । नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत सरकारी सेवा घरदैलोमै उपलब्ध गराउने उद्देश्यअनुसार जिल्ला प्रशासन कार्यालय नुवाकोटले हुलाकमार्फत राहदानी वितरण सेवा सुरु गरेको हो ।
मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको निर्णयअनुसार हुलाक सेवालाई आधुनिकीकरण गरी ‘गभर्मेन्ट कुरियर सर्भिस’ का रूपमा विकास गर्ने योजना अघि बढाइएको थियो । सोही योजनाअनुसार राहदानी, नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमतिपत्रलगायत सरकारी कागजात घरमै पुर्याउने व्यवस्था कार्यान्वयनमा ल्याइएको हो ।
यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला हुलाक कार्यालय नुवाकोटबीच २०८३ वैशाख २२ गते सम्झौता पत्रमा हस्ताक्षर भएसँगै सेवा सञ्चालनमा आएको जनाइएको छ ।
अब राहदानीका लागि आवेदन दिने सेवाग्राहीले आवेदनकै समयमा हुलाकमार्फत राहदानी प्राप्त गर्न चाहेको जानकारी गराई तोकिएको हुलाक शुल्क बुझाएर सेवा लिन सक्नेछन् ।
जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले नयाँ व्यवस्था लागू गरिएको जनाएको छ ।

