आइतबार पनि विद्यालय सञ्चालन गर्ने नुवाकोट दुप्चेश्वर गाउँपालिकाको निर्णय
नुवाकोट,बैशाख २५ । जिल्लाको दुप्चेश्वर गाउँपालिकाले आगामी यही वैशाख २७ गतेदेखि आइतबार समेत विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। नेपाल सरकारले हप्तामा आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय लागू गरेपछि पठनपाठनमा हुने सम्भावित क्षति न्यूनीकरण गर्न यस्तो व्यवस्था गरिएको हो।
गाउँपालिकाको कार्यपालिका बैठकले माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको संवैधानिक जिम्मेवारी भएकाले शैक्षिक गुणस्तर र पाठ्यभारलाई ध्यानमा राख्दै विद्यालय नियमित सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।
सूचनामा हाल कायम रहेको शैक्षिक पाठ्यभार तथा वार्षिक कार्यतालिका यथावत् रहेकाले आइतबार बिदा हुँदा पठनपाठन प्रभावित हुने र वर्षे बिदासमेत असर पर्ने अवस्था देखिएको उल्लेख गरिएको छ।
यस्तै, आगामी दिनमा शैक्षिक क्षतिपूर्ति सम्बन्धी पाठ्यक्रम ‘कस्टमाइज्ड’ गर्ने वा अन्य कुनै नीति निर्णय भएमा सोहीअनुसार कार्यान्वयन गरिने पनि गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै विद्यालयलाई आगामी २०८३ वैशाख २७ गतेदेखि आइतबार समेत नियमित रूपमा पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ। यसअघि नुवाकोटको लिखु, शिवपुरी, तादी, तार्केश्वर गाउँपालिकामा आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय भैसकेको छ ।

