राष्ट्रपतिबाट संसद् सम्बोधन गराउन सरकारले आग्रह गर्ने निर्णय



काठमाडौं, वैशाख २५ । सरकारले यही वैशाख २८ गते सोमबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आग्रह गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेललाई संसद्मा सम्बोधनका लागि आग्रह गर्ने तथा सो बैठकमा सबै सांसदहरूको उपस्थितिका लागि आह्वान गर्न अनुरोध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल ले जानकारी दिनुभयो ।

बैठकले विभिन्न देशमा रहेका १५ जना नेपाली अनररी कन्सुल जनरल तथा कन्सुललाई पदमुक्त गर्ने निर्णय पनि गरेको छ । साथै अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी २०१४ को प्रोटोकल नम्बर २९ अनुमोदनका लागि संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरिएको मन्त्री पोखरेलले बताउनुभयो ।

यसैबीच सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै मन्त्री पोखरेलले सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस विगतका कमजोरी सच्याउने प्रयास भएको बताउनुभयो । उहाँले न्याय क्षेत्रमा सुधारको मागलाई सम्बोधन गर्दै कार्यसम्पादन मूल्याङ्कनका आधारमा प्रधानन्यायाधीश सिफारिस गरिएको उल्लेख गर्नुभयो ।

मन्त्री पोखरेलले मुद्दा फर्स्यौट र कार्यसम्पादन सूचकका आधारमा पहिलोपटक प्रधानन्यायाधीश सिफारिस गरिएको दाबी गर्दै यसलाई अहिलेसम्मकै उत्कृष्ट सिफारिसका रूपमा लिनुपर्ने बताउनुभयो ।

उल्लेखनीय छ, हिजो बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा लाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो

प्रतिक्रिया दिनुहोस्