बाबुराम भट्टराईले प्रलोपा छोडे, सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश
काठमाडौँ, बैशाख २६ — पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईले पार्टी छोड्ने घोषणा गर्नुभएको छ।
पार्टीले शुक्रबार आयोजना गरेको बैठकमा उहाँले अब प्रलोपा मा नरहने निर्णय सुनाउनुभएको प्रलोपाका अध्यक्ष सन्तोष परियारले जानकारी दिनुभयो। अध्यक्ष परियारका अनुसार भट्टराई अब राजनीतिक रूपमा सक्रिय नभई सैद्धान्तिक, वैचारिक तथा लेखन कार्यमा केन्द्रित हुने बताउनुभएको छ।
तत्कालीन माओवादी जनयुद्धमा नेतृत्व तहमा रहेका भट्टराई पछि नयाँ शक्ति अभियान हुँदै विभिन्न राजनीतिक यात्रामा संलग्न रहँदै प्रलोपाका संरक्षक बनेका थिए। प्रलोपाले अब छिट्टै महाधिवेशन गरी विचार मिल्ने राजनीतिक शक्तिसँग एकता गर्ने तयारी समेत गरेको जनाएको छ।
यसैबीच, पूर्वमन्त्री सुदन किराँतीले पनि प्रलोपा छोड्दै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको छ। काठमाडौँमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले किराँतीलाई पार्टीमा स्वागत गर्दै वरिष्ठ नेताको जिम्मेवारी प्रदान गर्नुभएको हो।
दुई प्रभावशाली नेताहरूको एकैदिनको राजनीतिक निर्णयसँगै प्रलोपा भित्रको शक्ति सन्तुलन र आगामी रणनीतिबारे चासो बढेको छ।

