पाँचतारे होटलमा प्रशिक्षण राखिएको भन्दै रास्वपा सांसद आशिका तामाङको असन्तुष्टि, पार्टीले स्पष्टीकरण सोध्ने संकेत



काठमाडौँ ,वैशाख २६ । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) की सांसद आशिका तामाङलाई पार्टीले स्पष्टीकरण सोध्ने संकेत गरेको छ।

सामाजिक सञ्जालमार्फत पार्टीको गतिविधिप्रति असन्तुष्टि जनाएपछि उनलाई स्पष्टीकरण सोध्ने तयारी गरिएको रास्वपा स्रोतले जनाएको हो।शनिबारदेखि जावलाखेलस्थित कर्मचारी प्रशिक्षण प्रतिष्ठानमा सुरु भएको सांसदहरूको संसदीय अभ्यास तथा नेतृत्व विकाससम्बन्धी प्रशिक्षण कार्यक्रमलाई लिएर सांसद तामाङले सार्वजनिक रूपमा आलोचना गरेकी थिइन्। उनले सांसदहरूका लागि पाँचतारे होटल वा बाहिरका महँगा सभा कक्ष प्रयोग गर्नु आवश्यक नभएको उल्लेख गर्दै सिंहदरबारमै पर्याप्त सभा कक्ष उपलब्ध रहेको तर्क गरेकी हुन्।

सामाजिक सञ्जालमा उनले लेखेकी छन्, “सांसदहरूलाई प्रशिक्षण कार्यक्रम या अभिमुखीकरण कार्यक्रम गर्न पाँचतारे होटल नै या अरू बाहिर कसैसँग सभा कक्ष सापटी लिएर गर्नुपर्ने कुनै बाध्यता पक्कै होइन होला। सिंहदरबारमा त्यस्ता सभा कक्ष कति छन् कति, बाहिर किन? बाहिर दिनको कति खर्च लाग्छ त्यसको लेखाजोखा कसले गर्ने?”

उनले सुरक्षा कारण देखाएर महँगा स्थानमा कार्यक्रम गर्नु उचित नभएको टिप्पणी गर्दै परिवर्तन र मितव्ययिताको कुरा गर्नेहरूले व्यवहारमा पनि त्यसलाई लागू गर्नुपर्ने धारणा व्यक्त गरेकी छन्।

तामाङको अभिव्यक्तिपछि पार्टीभित्र यस विषयमा छलफल सुरु भएको र सार्वजनिक रूपमा पार्टीविरुद्ध धारणा राखेको भन्दै नेतृत्व असन्तुष्ट बनेको स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस्