राष्ट्रियताका मुद्दामा सरकारलाई कांग्रेसको साथ रहने गगन थापाको भनाइ



सुदूरपश्चिम,बैशाख २६– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले राष्ट्रियताका मुद्दामा वर्तमान सरकारलाई आफ्नो पार्टीको साथ र सहयोग रहने बताउनुभएको छ ।

पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय’ भेलालाई सम्बोधन गर्दै सभापति थापाले शासन प्रणाली, अर्थतन्त्र सुधार तथा राष्ट्रिय हितका विषयमा कांग्रेसले सरकारलाई पूर्ण सहयोग गर्ने स्पष्ट पार्नुभयो ।

उहाँले राष्ट्रियताका सवालमा कांग्रेसले दलगत स्वार्थभन्दा माथि उठेर काम गर्ने परम्परा रहेको उल्लेख गर्दै लोकतन्त्रका आधारभूत मूल्य र मान्यतामाथि हुने गलत कार्य भने स्वीकार्य नहुने बताउनुभयो ।लोकतन्त्रमा केवल कानुनी वैधता मात्र नभई नैतिक वैधतालाई पनि महत्व दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सभापति थापाले विगतको प्रसङ्ग स्मरण गर्दै कांग्रेस सरकारमा रहेका बेला संवैधानिक परिषद्सम्बन्धी निर्णयका क्रममा तत्कालीन उपसभामुखमाथि महाअभियोग प्रस्ताव ल्याउने तयारी भए पनि पार्टीले त्यसको विपक्षमा उभिएको बताउनुभयो ।

उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई पराजित मानसिकता त्यागेर संगठन निर्माणमा सक्रिय हुन निर्देशन दिँदै गत निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गर्नेहरूलाई केही समय जिम्मेवारीबाहिर राखिने संकेत गर्नुभयो ।

कार्यक्रममा कांग्रेसका उपसभापति एवं प्रशिक्षण प्रतिष्ठानका संयोजक विश्वप्रकाश शर्मा ले नयाँ ऊर्जा र नयाँ सोचसहित पार्टीलाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले कांग्रेसलाई केवल पार्टीका रूपमा नभई समाजलाई जोड्ने साझा संगठनका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

महामन्त्री गुरुराज घिमिरे ले पार्टीभित्र आग्रह–पूर्वाग्रह त्यागेर संगठनलाई एकीकृत र सुदृढ बनाउने बताउनुभयो । अवसर नपाएर किनारामा परेका निष्ठावान् र क्षमतावान् नेता–कार्यकर्ताको उचित मूल्याङ्कन गरिने उहाँको भनाइ थियो ।

कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाह ले पार्टीलाई एकढिक्का बनाएर अघि बढ्नुपर्नेमा जोड दिँदै पूर्वसभापति शेरबहादुर देउवा लगायत नेताहरूको सम्मानजनक भूमिकामा ध्यान दिन नेतृत्वसमक्ष आग्रह गर्नुभयो ।

नेपाली कांग्रेस कैलालीका कार्यवाहक सभापति खेमराज चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहमहामन्त्री प्रकाश रसाइली स्नेही, सहमहामन्त्रीद्वय उदयशम्शेर राणा र योगेन्द्र चौधरीसहित विभिन्न जिल्लाका सभापतिहरूको सहभागिता रहेको थियो । दुईदिने कार्यक्रममा प्रदेशसभा तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिसँग विविध समसामयिक विषयमा छलफल गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्