बुटवल–नारायणगढ सडकमा सहज यात्रा, दाउन्ने खण्डको ढलान अन्तिम चरणमा



नवलपरासी,बैशाख २७ । लामो समयदेखि धुलो, हिलो र सवारी जामका कारण यात्रुहरूको हैरानीको विषय बनेको बुटवल–नारायणगढ सडकखण्डमा अहिले सवारी साधन सहज रूपमा सञ्चालन हुन थालेका छन् । सडक विस्तारको काम तीव्र गतिमा अघि बढेसँगै विभिन्न स्थानमा कालोपत्रे सम्पन्न भएपछि यात्रामा उल्लेख्य सहजता आएको हो ।

विशेषगरी निकै जटिल मानिएको १४ किलोमिटर दाउन्ने सडकखण्डमा दुईतर्फी ढलानको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ । आयोजनाको पश्चिम खण्डका प्रमुख पशुपति ज्ञवालीका अनुसार दाउन्ने खण्डमा १ सय ८० मिटर बाहेक अधिकांश ढलानको काम सम्पन्न भइसकेको छ ।

उहाँले पहिरोले क्षति पुर्‍याएको एक स्थानको १ सय मिटर र अर्को स्थानको ८० मिटर गरी कुल १ सय ८० मिटर क्षेत्रमा पुनः निर्माणको काम बाँकी रहेको बताउनुभयो । साथै दुईतर्फी ढलान सम्पन्न गर्न करिब १ किलोमिटर काम मात्रै बाँकी रहेको उहाँको भनाइ छ ।

ज्ञवालीका अनुसार जेठ १५ गतेसम्म पहिरो प्रभावित १ सय ८० मिटर बाहेक अन्य सबै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । दाउन्ने मन्दिर नजिकै ६७ नम्बर क्षेत्रमा कल्भर्ट निर्माणको काम भइरहेको र आधाभन्दा बढी काम सकिएको पनि उहाँले जानकारी दिनुभयो ।

केही समयअघिसम्म पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रमा दैनिकजसो लामो सवारी जाम हुने, दुर्घटनाको जोखिम बढ्ने तथा यात्रुले घण्टौँ सास्ती व्यहोर्नुपर्ने अवस्था थियो । अहिले भने सडक ढलानको काम अन्तिम चरणमा पुगेसँगै आवागमन तुलनात्मक रूपमा सहज बनेको यात्रुहरूले बताएका छन् ।

दलदले फारमका दामु पौडेलले अहिले जाममा नपरी सहज रूपमा यात्रा गर्न पाइएको बताउँदै सडक निकै राम्रो बनेको प्रतिक्रिया दिनुभयो । सडकमा धुलो कम हुनुका साथै यात्रा समयसमेत घट्न थालेको छ ।सार्वजनिक यातायात चालकहरूले पनि पहिलेको तुलनामा गाडी सञ्चालन सहज भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्