काठमाडौँमा ‘नो हर्न’ अभियान : एकैदिन २०० बढी चालक कारबाहीमा
काठमाडौँ, वैशाख २७ – काठमाडौँ उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत शनिबार २०० भन्दा बढी सवारी चालक कारबाहीमा परेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय ले उपत्यकाका मुख्य सडक, व्यस्त चोक तथा सवारी चाप बढी हुने क्षेत्रमा विशेष निगरानी सञ्चालन गर्दै जथाभावी हर्न बजाउने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई नियन्त्रणमा लिएर कारबाही गरेको जनाएको छ ।कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदी का अनुसार अभियानका क्रममा चालकलाई ट्राफिक नियम पालना, सुरक्षित यात्राको महत्त्व तथा ‘नो हर्न’ सम्बन्धी जनचेतना समेत प्रदान गरिएको छ ।
त्यसैगरी, कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी ले उपत्यकामा सञ्चालन भइरहेको उक्त अभियान आगामी दिनमा अझ प्रभावकारी बनाइने बताउनुभयो । उहाँका अनुसार विद्यालय, अस्पताल तथा भीडभाड हुने संवेदनशील क्षेत्रमा ट्राफिक निगरानी थप कडा बनाइएको छ ।
ट्राफिक प्रहरीले अनावश्यक हर्नको प्रयोगले ध्वनि प्रदूषण बढाउनुका साथै दुर्घटनाको जोखिमसमेत बढाउने भएकाले चालकलाई सचेत र जिम्मेवार बन्न आग्रह गरेको छ ।

