मनसुन कमजोर हुने संकेत, देशभर खडेरी र गर्मी बढ्ने जोखिम
काठमाडौँ, वैशाख २७ । जल तथा मौसम विज्ञान विभागले आउँदो मनसुनमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ । विभागका अनुसार जलवायु परिवर्तनका कारण मनसुन कमजोर बन्दै गएको र यसले खडेरीको जोखिम बढाउने सम्भावना रहेको छ ।
विभागले जेठ १८ देखि असोज १४ गतेसम्मको मनसुन अवधिमा वर्षा कम हुने तथा तापक्रम सरदरभन्दा बढी रहने जनाएको छ ।मौसमविद्का अनुसार अलनिनो प्रणाली सक्रिय हुँदा मनसुन प्रभावित हुने र दसैँ–तिहारतिर बेमौसमी वर्षा बढ्ने प्रवृत्ति देखिएको छ ।
कम वर्षाले बर्खेधानसहित खाद्यान्न उत्पादन, भूमिगत जल सञ्चिति तथा कृषि क्षेत्रमा असर पार्न सक्ने चेतावनी विभागले दिएको छ ।कर्णाली, लुम्बिनी, मधेश र कोशी प्रदेशका विभिन्न भू–भागमा ५५ देखि ६५ प्रतिशतसम्म कम वर्षा हुने सम्भावना औँल्याइएको छ ।
त्यस्तै देशभर तापक्रम पनि सरदरभन्दा बढी रहने विभागको अनुमान छ । गर्मी र खडेरीको असर न्यूनीकरणका लागि सरोकारवाला निकायलाई सतर्क रहन सुझाव दिइएको छ ।

