दमौली–भरतपुर प्रसारण लाइनका लागि चितवनमा रुख कटान अनुमति
काठमाडौँ, वैशाख २७ — तनहुँ जलविद्युत् आयोजना अन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन खण्डमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ ।
डिभिजन वन कार्यालय चितवन ले २०८३ वैशाख २५ गतेदेखि लागू हुनेगरी प्रसारण लाइनको मार्गाधिकार क्षेत्रमा पर्ने राष्ट्रिय तथा सामुदायिक वनका रुख कटान, मुछान तथा घाटगद्दीका लागि आयोजनालाई वन प्रवेश इजाजतपत्र प्रदान गरेको हो । यससँगै आयोजना र वन कार्यालयबीच औपचारिक सम्झौता सम्पन्न भएपछि निर्माण कार्यले थप गति लिने अपेक्षा गरिएको आयोजनाका प्रमुख श्यामजी भण्डारी ले जानकारी दिनुभयो ।
आयोजनाअनुसार भरतपुर महानगरपालिका–१ स्थित सतनचुली संरक्षित वन, सतनचुली सामुदायिक वन तथा वडा नं. २९ अन्तर्गतका अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रका विभिन्न प्रजातिका एक हजार २६३ रुख कटान गरिनेछ । काटिएका रुखलाई सम्बन्धित सामुदायिक वन उपभोक्ता समूह तथा सबडिभिजन वन कार्यालयले तोकेको सुरक्षित स्थानमा घाटगद्दी गर्नुपर्ने व्यवस्था गरिएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ मङ्सिर २० गतेको निर्णयअनुसार प्रसारण लाइन निर्माणका लागि चितवन र तनहुँ जिल्लाको कुल ९२ दशमलव ७३ हेक्टर वन क्षेत्र प्रयोग गर्न तथा नौ हजार १२७ रुख हटाउन स्वीकृति दिइएको थियो । जसमध्ये चितवनमा २५ दशमलव २७ हेक्टर र तनहुँमा ६७ दशमलव ४६ हेक्टर वन क्षेत्र पर्दछ ।
सोही निर्णयका आधारमा २०८२ पुस ३० गते आयोजना र वन तथा भूसंरक्षण विभाग बीच सम्झौता भएको थियो । त्यसपछि डिभिजन वन कार्यालय, आयोजना र सामुदायिक वन समूहहरूको समन्वयमा रुख छपान कार्य अघि बढाइएको हो ।
आयोजनाले जनाएको अनुसार चितवन खण्डमा कटान प्रक्रिया सुरु भए पनि तनहुँतर्फको रुख छपान कार्य अझै जारी छ । करिब ५० करोड ५० लाख अमेरिकी डलर लागत अनुमान गरिएको आयोजनामा एसियाली विकास बैंक, जाइका, युरोपियन लगानी बैंक, नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरण को संयुक्त लगानी रहेको छ ।
आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत ५८ करोड ७७ लाख युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । साथै, आयोजनाबाट प्राप्त बहाव तथा मादी नदीको पानी उपयोग गरी तल्लो तटीय क्षेत्रमा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना विकासको प्रक्रिया पनि अघि बढाइएको छ ।

