सोलुखुम्बुमा सुरु भयो ई–पेन्सन सेवा, भीमलाल तामाङ बने पहिलो सेवाग्राही



सोलुखुम्बु,बैशाख २७— हिमाली जिल्ला सोलुखुम्बुमा ई–पेन्सन सेवा औपचारिक रूपमा सुरु गरिएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुमार्फत सेवा सञ्चालनमा आएको हो ।

सेवाको पहिलो सेवाग्राहीका रूपमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुखुम्बुबाट सेवानिवृत्त पशु विकास अधिकृत अधिकृतस्तर आठौँ तहका भीमलाल तामाङलाई निवृत्तिभरण अधिकारपत्र हस्तान्तरण गरिएको कार्यालयले जनाएको छ ।

राष्ट्रिय किताबखाना (निजामती)का महानिर्देशक श्रवणकुमार पोखरेलले सोलुखुम्बुबाट पहिलो पटक ई–पेन्सन सेवा प्राप्त गर्दै तामाङ ई–पेन्सनर बन्नुभएको जानकारी दिनुभयो । उहाँले यस सेवाले काठमाडौँ धाउनुपर्ने झन्झट, कागजी प्रक्रिया तथा अनावश्यक हैरानी अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय किताबखाना (निजामती)ले २०८२ चैत ६ गतेदेखि औपचारिक रूपमा ई–पेन्सन सेवा सुरु गरेको थियो । डिजिटल प्रणालीमार्फत अब निवृत्त कर्मचारीले सहज र छिटो रूपमा पेन्सनसम्बन्धी सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्