वैशाख २९ भित्र एसइई नतिजा सार्वजनिक गर्ने तयारी
काठमाडौँ, वैशाख २७ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनको तयारी तीव्र पारेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यही वैशाख २९ गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने लक्ष्यसहित काम भइरहेको छ ।
गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षाका उत्तरपुस्तिका परीक्षा सकिएलगत्तै परीक्षण तथा सम्परीक्षण सुरु गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षा नियन्त्रक टुकराज अधिकारी का अनुसार हाल ३५ जना कर्मचारी टेबुलेसन कार्यमा खटिएका छन् । उहाँले निर्धारित समयभित्र नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
‘माध्यमिक शिक्षा परीक्षा (एसइई) व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२’ अनुसार परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गरिसक्नुपर्ने व्यवस्था रहेको छ ।
गत वर्ष नियमित तथा स्तरवृद्धितर्फ गरी पाँच लाख १२ हजार ४२१ विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए ।

