बजेट अधिवेशन भोलिदेखि सुरु, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
काठमाडौँ, वैशाख २७ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । अधिवेशनको पहिलो दिन नै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई भोलि अपराह्न ४ बजे सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।
नेपालको संविधानको धारा ९५ अनुसार प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन तथा प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था रहेको छ ।
राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा अपराह्न ३ः४५ बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई संसद् सचिवालयले अनुरोध गरेको छ । त्यसअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने कार्यतालिका रहेको छ ।
संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी गराइने, मन्त्रिपरिषद् हेरफेरसम्बन्धी सूचनाबारे सदनलाई अवगत गराइने तथा सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन गरिने सम्भावित कार्यसूची रहेको छ ।
त्यसैगरी, प्रतिनिधिसभा नियमावली, २०७९ अन्तर्गत जारी गरिएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस गरिने तथा नियमावलीको मस्यौदामाथि छलफल हुने कार्यसूची पनि तय गरिएको छ ।
अधिवेशनमा सरकारले जारी गरेका ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ सहित आठ वटा अध्यादेश पेस गर्ने तयारी गरिएको संसद् सचिवालयले जनाएको छ । ती अध्यादेश राष्ट्रियसभामा पनि पेस गरिनेछ ।

