हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह



काठमाडौँ,बैशाख २८। देशका विभिन्न स्थानमा आज पनि हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

महाशाखाले रातिको समयमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ ।

भोलि पनि देशका विभिन्न क्षेत्रमा यस्तै मौसम रहने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार यो हप्ताको बिहीबारसम्म देशका धेरै स्थानमा वर्षा जारी रहने सम्भावना छ ।

आज बेलुका र भोलि बिहान केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्