आजदेखि बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि प्रस्तुत हुँदै
काठमाडौँ, वैशाख २८ । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । आजै सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्नेछ । राष्ट्रपति रामचन्द्र पौडेल ले नीति तथा कार्यक्रम पेस गर्नुहुनेछ ।
अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, प्रिबजेट छलफल, वार्षिक बजेट पेस तथा पारितलगायत संवैधानिक र कानुनी दायित्वका कार्यसूची अघि बढाइनेछ । सरकारले जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्ने तयारी गरेको छ भने असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने व्यवस्था छ ।
संसद् अधिवेशन नरहेका बेला जारी भएका आठ वटा अध्यादेश पनि आजै दुवै सदनमा पेस हुनेछन् । ती अध्यादेश ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत पारित र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
यसैबीच, प्रतिनिधिसभामा प्रिबजेट छलफल वैशाख ३१ गतेदेखि सुरु हुने कार्यतालिका तय गरिएको छ । सरकारले पहिलो चरणमा ४० भन्दा बढी विधेयक संसद्मा अघि बढाउने तयारी गरेको जनाएको छ ।

