सहकारी पत्रकारितामा तथ्य र अनुसन्धानको जोड
काठमाडौं, वैशाख २८ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजना तथा बागमती प्रदेश सरकारअन्तर्गतको सहकारी तथा गरिबी निवारण मन्त्रालय को आर्थिक सहयोगमा भक्तपुरको नगरकोट मा आयोजित ‘सहकारी पत्रकारिता तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम’ सम्पन्न भएको छ ।
वैशाख २६ र २७ गते सञ्चालन भएको दुईदिने तालिममा बागमती प्रदेशका १३ जिल्लाबाट सहभागी ४० जना पत्रकारलाई सहकारी पत्रकारिता, अनुसन्धानमूलक रिपोर्टिङ, सहकारी संकटमा मिडियाको भूमिका, सहकारी पत्रकारितामा नैतिकता, सहकारी कानुन, वर्तमान चुनौती तथा अवसरलगायत विषयमा प्रशिक्षण दिइएको थियो ।
तालिममा पत्रकार यादव हुमागाईं ले सहकारी पत्रकारिताको अवधारणा, अनुसन्धानमूलक पत्रकारिताका अभ्यास, सहकारी क्षेत्रमा देखिएका चुनौती तथा सञ्चारमाध्यमको भूमिकाबारे सहजीकरण गर्नुभएको थियो । त्यसैगरी राष्ट्रिय सहकारी बैंक का प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं ले सहकारीका वित्तीय सूचक, वित्तीय विवरण विश्लेषण, जोखिम संकेत पहिचान तथा सहकारी संकटका वित्तीय अवस्थाबारे प्रशिक्षण दिनुभएको थियो ।
त्यस्तै पत्रकार हिक्मत आचार्य ले तथ्यजाँच (फ्याक्ट चेक), मिथ्या सूचना र भ्रामक सूचनाबीचको भिन्नता तथा तथ्यजाँचका विधिबारे प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको समापनमा बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी पौडेल ले सहकारी क्षेत्रको विश्वसनीयता बढाउन तथ्यमा आधारित, जिम्मेवार र अनुसन्धानमूलक पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सहकारी क्षेत्रलाई गलत प्रवृत्तिबाट मुक्त गर्न पत्रकारहरूले निष्पक्ष र सत्यतथ्यमा आधारित भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री रायमाझीले सहकारीको सेवा प्रवाह सहज बनाउन हालै सहकारी रजिष्ट्रार कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अब सहकारीहरूले सेवा लिन प्रदेश राजधानी धाउनुपर्ने बाध्यता हटेको छ ।
उहाँले प्रदेश सरकारले गरिबी निवारणसम्बन्धी नीति निर्माण गरेको जानकारी दिँदै उक्त नीति चाँडै पारित गरिने बताउनुभयो । नीतिअन्तर्गत रसुवा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर र ललितपुर बाहेकका बागमती प्रदेशका आठ जिल्लाका विपन्न दलित, पिछडिएको वर्ग तथा सिमान्तकृत समुदायका एक हजार घरपरिवारलाई लक्षित गरिएको छ ।
नीतिअन्तर्गत आवास निर्माण, बिउ पुँजी उपलब्ध गराउने तथा आयआर्जनका लागि सिप विकास तालिम सञ्चालन गरी लक्षित समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्य राखिएको मन्त्री रायमाझीले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति का अध्यक्ष कृष्ण सारु मगर ले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि महासंघले निरन्तर काम गर्दै आएको बताउनुभयो । उहाँले डिजिटल युगसँगै पत्रकारिताको स्वरूप परिवर्तन भइरहेकाले पत्रकारहरूले नयाँ सीप, तथ्यमा आधारित रिपोर्टिङ तथा अनुसन्धानमूलक पत्रकारितालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रमका संयोजक तथा सचिव काजी श्रेष्ठ ले तालिमले पत्रकारहरूलाई सहकारीको संरचना, वित्तीय अवस्था र जोखिम संकेत बुझ्न सहयोग पुगेको तथा सहकारीसम्बन्धी समाचारलाई अझ विश्वसनीय बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो

