शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्न राष्ट्रसङ्घसँग सरकारको जोड
काठमाडौं, वैशाख २८ — सस्मित पोखरेलसँग राष्ट्रसङ्घका नेपालस्थित आवासीय संयोजक लीला पिटर्स याहिया लगायत विभिन्न नियोगका प्रतिनिधिमण्डलले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन् ।सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको भेटमा नेपाल र राष्ट्रसङ्घबीचको आपसी सम्बन्ध, शिक्षा क्षेत्रमा सहकार्य तथा दुईपक्षीय हितका विषयमा छलफल भएको शिक्षामन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।
भेटवार्तामा संयुक्त राष्ट्रसङ्घ बाल कोष, विश्व खाद्य कार्यक्रम, संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष, अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन लगायत राष्ट्रसङ्घअन्तर्गतका विभिन्न नियोगका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा राष्ट्रसङ्घीय नियोगहरूले पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै समावेशी शिक्षा, शिक्षकको पेसागत विकास, डिजिटल माध्यमबाट सिकाइ, विज्ञान तथा प्रविधिको प्रयोगलगायत क्षेत्रमा आगामी दिनमा थप सहकार्य गर्न मन्त्रालय इच्छुक रहेको बताउनुभयो ।
भेटका क्रममा विशेषगरी समावेशी शिक्षा, प्रमाणमा आधारित सिकाइ, दिगो विकास लक्ष्य कार्यान्वयन, साक्षरता तथा जीवनभर सिकाइ क्षेत्रमा भइरहेको सहयोगबारे छलफल भएको थियो । साथै, विदेशमा रहेका विद्यार्थीहरूको मानसिक स्वास्थ्यका विषयमा समेत ध्यान दिने विषयमा कुराकानी भएको जनाइएको छ ।
आवासीय संयोजक याहियाले शिक्षा क्षेत्र राष्ट्रसङ्घका नियोगहरूको प्राथमिकतामा रहेको उल्लेख गर्दै आगामी दिनमा पनि नेपाल सरकारसँगको सहकार्य र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

