मानव बेचविखन मुद्दामा वडाध्यक्ष पक्राउ



स्याङ्जा,बैशाख २९— मानव बेचविखन मुद्दामा पुतलीबजार नगरपालिका वडा नं. ४ का वडाध्यक्ष शिवबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ।

पीडितको उजुरीपछि मानव बेचविखन अनुसन्धान ब्युरोको टोलीले सोमबार कास्कीबाट थापालाई पक्राउ गरेको हो। ब्युरोका प्रहरी उपरीक्षक राजन लिम्बु ले थापा पक्राउ परेको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो।

थापा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस बाट पुतलीबजार–४ को वडाध्यक्षमा निर्वाचित भएका थिए। निर्वाचित भएपछि करिब १५ महिना जिम्मेवारी सम्हालेका थापाले २०८० भदौ १५ गते स्वास्थ्य उपचारका लागि भन्दै वडा सदस्य लिलावती पौडेललाई कार्यवाहक जिम्मेवारी दिएर सम्पर्कविहीन भएका थिए।

दुई महिना अघि मात्रै नेपाल फर्किएका थापाले अमेरिका बसाइँका क्रममा पनि नगरपालिकाबाट सेवा–सुविधा बापत रकम लिएको खुलेको छ। पुतलीबजार नगरपालिकाले २०८० भदौदेखि २०८१ असारसम्मको अवधिमा उहाँलाई दुई लाख ७६ हजार १९० रुपैयाँ भुक्तानी गरेको बताइएको छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्