नुवाकोटको पृथ्वी माविको गौरव : एसइईमा ९ विद्यार्थीको ४.०० जिपिए
नुवाकोट,बैशाख २९ । नुवाकोटको विदुरस्थित पृथ्वी माध्यमिक विद्यालय यतिबेला खुसी र गर्वले भरिएको छ । सोमबार बेलुकी सार्वजनिक भएको एसइई २०८२ को नतिजाले विद्यालयलाई जिल्लामै उदाहरणीय शैक्षिक संस्थाको रूपमा उभ्याएको छ ।
यस वर्षको नतिजामा पृथ्वी माविबाट सहभागी ९२ विद्यार्थीमध्ये ९ जनाले उत्कृष्ट ४.०० जिपिए हासिल गरेका छन् । विद्यालय परिसरमा नतिजापछि विद्यार्थी, अभिभावक र शिक्षकबीच उत्साह थपिएको छ । उत्कृष्ट नतिजाले विद्यालयको शैक्षिक वातावरण, शिक्षकको मेहनत र विद्यार्थीको निरन्तर परिश्रमलाई उजागर गरेको छ ।
४.०० जिपिए ल्याउने विद्यार्थीहरूमा एलिस लामिछाने, दिलस न्यौपाने, दिलसा दाहाल, दिलसा पौडेल, प्रजन प्रधान, रजनिस प्याकुरेल, सहारा अर्याल, सम्पदा श्रेष्ठ र सन्जिता पुडासैनी रहेका छन् । उनीहरूको सफलताले अन्य विद्यार्थीलाई पनि प्रेरणा दिएको विद्यालय प्रशासनको भनाइ छ ।
विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछाने का अनुसार यस वर्षको नतिजा निकै उत्साहजनक रहेको छ । कुल विद्यार्थीमध्ये ४५ जनाले ३.६ भन्दा माथिको जिपिए प्राप्त गरेका छन् भने ३० जनाले ३.२ भन्दा माथि र १६ जनाले २.८ भन्दा माथिको नतिजा ल्याएका छन् । यसरी ९१ जना विद्यार्थी ग्रेडेड भएका छन् भने केवल एक जनाको ननग्रेडेड नतिजा आएको छ ।
विद्यालयले पछिल्ला केही वर्षदेखि शैक्षिक गुणस्तर सुधारमा विशेष ध्यान दिँदै आएको छ । नियमित अतिरिक्त कक्षा, अनुशासित सिकाइ वातावरण र शिक्षक–अभिभावक समन्वयले यसपटकको उपलब्धिलाई सम्भव बनाएको शिक्षकहरू बताउँछन् ।
स्थानीय अभिभावकहरूका अनुसार पृथ्वी माविले सामुदायिक विद्यालयप्रतिको विश्वास अझ बलियो बनाएको छ । निजी विद्यालयसँग प्रतिस्पर्धा गर्दै सामुदायिक विद्यालयले समेत उत्कृष्ट नतिजा दिन सक्छ भन्ने उदाहरण पृथ्वी माविले प्रस्तुत गरेको उनीहरूको भनाइ छ ।

