बेपत्ता नुवाकोटका युवक मृत फेला
रामपुर, वैशाख २९ — गत आइतबार कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका नुवाकोटका एक युवक मृत अवस्थामा फेला परेका छन् ।
पाल्पाको रामपुर नगरपालिका–१ टापुधाम क्षेत्रमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बेलकोटगढी नगरपालिका–१३, नुवाकोटका २१ वर्षीय मिलन थिङको शव मंगलबार फेला परेको हो ।
आइतबार दिउँसो नदीमा पौडी खेल्ने क्रममा उहाँ बेपत्ता भएपछि प्रहरी र स्थानीयवासीले निरन्तर खोजी कार्य सञ्चालन गरेका थिए ।
खोजीका क्रममा मंगलबार अपरान्ह ४ बजे रामपुर नगरपालिका–१ स्थित साखर्दी खोला दोभान नजिक कालीगण्डकी नदी किनारमा उहाँको शव भेटिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

