नुवाकोटमा ट्राफिक सप्ताह–२०८३ सुरु, सडक सुरक्षा सबैको साझा जिम्मेवारी
नुवाकोट,बैशाख २९ । नुवाकोटमा सडक दुर्घटना न्यूनीकरण र ट्राफिक अनुशासन अभिवृद्धि गर्ने उद्देश्यसहित ट्राफिक सप्ताह–२०८३ औपचारिक रूपमा सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको आयोजनामा विदुरमा प्रभातफेरीसहित सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै विदुर नगरका प्रमुख राजन श्रेष्ठ ले ट्राफिक नियमको पालना सभ्य र जिम्मेवार समाजको पहिचान भएको बताउनुभयो । पछिल्लो समय सवारी साधनको चाप बढ्दै जाँदा दुर्घटनाको जोखिम पनि बढिरहेको उल्लेख गर्दै उहाँले जनचेतना विस्तारमार्फत मात्रै दुर्घटना नियन्त्रण सम्भव हुने धारणा राख्नुभयो ।ट्राफिक अनुशासन कायम गर्नु प्रहरीको मात्र दायित्व नभई सबै नागरिकको साझा जिम्मेवारी भएको उहाँको भनाइ थियो ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी ले सुरक्षित यात्राका लागि ट्राफिक नियमलाई कडाइपूर्वक कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सडक सुरक्षालाई प्रभावकारी बनाउन सरकारी निकाय, स्थानीय तह, विद्यालय तथा नागरिक समाजबीच समन्वय अपरिहार्य रहेको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मी ले दुर्घटना न्यूनीकरणका लागि प्रहरी सक्रिय रूपमा परिचालित रहेको जानकारी दिनुभयो । उहाँका अनुसार ट्राफिक सचेतनामूलक कार्यक्रमसँगै निगरानी र नियम उल्लंघन गर्नेविरुद्ध कारबाहीलाई समेत प्रभावकारी बनाइएको छ । सडक अनुशासन कायम गर्न सबै पक्षको सहयोग आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रमअन्तर्गत आयोजित प्रभातफेरीमा विद्यार्थी, सुरक्षाकर्मी तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले सडक सुरक्षासम्बन्धी विभिन्न नारासहित विदुर बजार परिक्रमा गरेका थिए भने विद्यार्थीहरूले प्लेकार्डमार्फत सुरक्षित यात्राको सन्देश दिएका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक विनोद कुमार घिमिरे का अनुसार ट्राफिक सप्ताह अवधिभर विद्यालय केन्द्रित सचेतना कार्यक्रम, चालक तथा सहचालक अभिमुखीकरण, हेल्मेट र सिटबेल्ट प्रयोगसम्बन्धी अभियान, मापसे नियन्त्रण तथा सडक सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ ।
उहाँले सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन तथा यात्रुहरूलाई समेत सुरक्षित यात्राप्रति सजग रहन आग्रह गर्नुभयो । सप्ताहव्यापी अभियानले नुवाकोटमा सडक सुरक्षा र ट्राफिक सचेतनाबारे सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।

