अर्घाखाँचीमा बस दुर्घटना, ४ जनाको मृत्यु



अर्घाखाँची,बैशाख २९ । अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ३ महिला र १ पुरुष रहेका प्रहरीले जनाएको छ ।

आज सुपादेउराली मन्दिर दर्शन गरेर फर्किंदै गरेका पर्वतका यात्रु सवार ध १ ख ५०४ नम्बरको बस पाणिनी गाउँपालिका–८ दुर्गाफाँटस्थित कुडेलेमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक दिवस जिसीका अनुसार बस सडकबाट झण्डै १०० मिटर तल खसेको थियो ।

दुर्घटनाका बेला बसमा ३० जना सवार रहेका थिए । दुर्घटनामा घाइते भएका २२ जनालाई उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँची तथा पाल्पास्थित मिसन अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्