बाबु बचाउन पेट्रोल खोसा–खोस गर्ने क्रममा जलेर घाइते छोरीको पनि मृत्यु



प्युठान,बैशाख २९ । प्युठान नगरपालिका–९, पाहारपाखा अहिले गहिरो शोकमा डुबेको छ ।एउटै घरका बाबुछोरी उपचारकै क्रममा गुमेपछि गाउँभरि पीडाको वातावरण छाएको छ । वैशाख १३ गते राति भएको आगलागी घटनामा गम्भीर घाइते भएका ४५ वर्षीय सानु नेपाली र उनकी १८ वर्षीया छोरी अञ्जली नेपालीको अन्ततः ज्यान गएको हो ।

परिवारका अनुसार बाबु सानुको वैशाख १९ गते कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । छोरी अञ्जलीले भने केही दिनसम्म जीवनसँग संघर्ष गरिन् । तर मंगलबार बिहान उनले पनि अस्पतालमै अन्तिम सास फेरिन् ।

घटनाको रात पाहारपाखामा सामान्य घरायसी विवादले भयावह रूप लिएको थियो । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार राति करिब सवा १० बजेतिर सानुले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेका थिए । त्यही बेला छोरी अञ्जली बाबुलाई जोगाउन दौडिइन् । पेट्रोलको बोतल खोसाखोस गर्ने क्रममा आगो फैलिँदा बाबुछोरी दुवै गम्भीर रूपमा जलेका थिए ।

प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार घटनापछि दुवैलाई तत्काल जिल्ला अस्पताल लगिएको थियो । त्यहाँ प्राथमिक उपचार सम्भव नभएपछि थप उपचारका लागि पाल्पास्थित मिसन अस्पताल पठाइयो । अवस्था झन् जटिल बन्दै गएपछि कीर्तिपुर अस्पताल, काठमाडौं लगिएको थियो । चिकित्सकहरूको लगातार प्रयास हुँदाहुँदै पनि बाबुछोरीलाई बचाउन भने सकिएन ।

स्थानीयवासीका अनुसार सानु नेपाली केही वर्ष वैदेशिक रोजगारीमा बिताएर गाउँ फर्किएका थिए । पछिल्लो समय परिवारको खर्च धान्न अटोगाडी चलाउँदै आएका थिए । गाउँमा सामान्य र मेहनती व्यक्तिका रूपमा चिनिने सानुको यस्तो दुःखद अन्त्यले छिमेकीहरू स्तब्ध बनेका छन् ।

अञ्जलीको मृत्युले भने गाउँका युवापुस्तामा झन् ठूलो पीडा थपेको छ । बाबुलाई बचाउने प्रयासमै उनले ज्यान गुमाएकी हुन् । गाउँलेहरूका अनुसार उनी पढाइसँगै परिवारलाई सहयोग गर्दै आएकी थिइन् । अहिले पाहारपाखामा बाबुछोरीको सम्झनामा आँसु झार्नेहरूको भीड लागिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्