तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु
तनहुँ,बैशाख ३० । तनहुँको देवघाट गाउँपालिका–४ मा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु भएको छ ।
नेपाल विद्युत् प्राधिकरण को पूर्णस्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड ले सुरुङ निर्माणका लागि आर.के. हाइड्रो इञ्जिनियरिङ एण्ड एशोसिएट्स प्रालि, काठमाडौँसँग ठेक्का सम्झौता गरेको हो ।आयोजना प्रमुख हरिकुमार श्रेष्ठका अनुसार विसं २०८० फागुन ७ गते ठेक्का सम्झौता सम्पन्न भए पनि विस्फोटक पदार्थ प्रयोगसम्बन्धी स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा निर्माण कार्य केही समय प्रभावित भएको थियो । आवश्यक स्वीकृति प्राप्त भएपछि हाल सुरुङ निर्माण सुरु गरिएको उहाँले बताउनुभयो ।
श्रेष्ठका अनुसार प्रवेश सुरुङ आयोजनाको मुख्य संरचना निर्माणका लागि आवश्यक भूगर्भीय अध्ययन, अन्वेषण तथा पहुँच मार्गका रूपमा महत्वपूर्ण रहनेछ । तल्लो सेती आयोजना पिकिङ रन अफ द रिभर प्रकृतिको अर्धजलाशययुक्त जलविद्युत् आयोजना हो । आयोजनाबाट वार्षिक ५२० दशमलव ७८ करोड युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाको बाँध तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाअन्तर्गत सारङघाट नजिक सेती नदीमा निर्माण गरिनेछ । बाँधको उचाइ ३२ मिटर रहनेछ भने यसबाट करिब १२ दशमलव ७ किलोमिटर लामो जलाशय निर्माण हुनेछ । सञ्चित पानीलाई ६ दशमलव ७५ किलोमिटर लामो सुरुङमार्फत देवघाट–४ गाईघाटस्थित अर्धभूमिगत विद्युत्गृहमा पुर्याइने योजना रहेको आयोजनाले जनाएको छ ।
आयोजनाको विस्तृत परियोजना प्रतिवेदन एसियाली विकास बैंक को अनुदान सहयोगमा तयार गरिएको हो । आयोजनाको अनुमानित कुल लागत २२७ मिलियन अमेरिकी डलर रहेको बताइएको छ । कुल लागतको ३० प्रतिशत स्वपुँजी तथा ७० प्रतिशत ऋणमार्फत आयोजना निर्माण गर्ने अवधारणागत निर्णय नेपाल विद्युत् प्राधिकरण बाट भइसकेको जनाइएको छ ।
विद्युत्गृह तथा कर्मचारी आवास निर्माणका लागि आवश्यक करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया पनि सुरु गरिएको छ । प्राधिकरणबाट आवश्यक बजेट विनियोजन भएपछि प्रक्रिया अगाडि बढाइएको आयोजनाले जनाएको छ ।
आयोजना सञ्चालनमा आएपछि हिउँदयाममा दैनिक न्यूनतम ६ घण्टा १२६ मेगावाट विद्युत् उत्पादन गर्न सकिने श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार माथिल्लो क्षेत्रमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट निस्कने पानीको पूर्ण उपयोगका लागि तल्लो सेती आयोजना महत्वपूर्ण ‘क्यास्केड’ आयोजना हुनेछ ।
श्रेष्ठले तनहुँ जलविद्युत् आयोजनाकै प्रसारण लाइन प्रयोग गर्न सकिने भएकाले थप प्रसारण पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता नपर्ने बताउनुभयो । आयोजना काठमाडौँ र भरतपुरजस्ता प्रमुख लोड सेन्टर नजिक रहेकाले लागत प्रभावी तथा व्यावसायिक दृष्टिले समेत उपयुक्त रहेको उहाँको भनाइ छ ।
ग्रिड कनेक्सन सम्झौता सम्पन्न भइसकेको तथा विद्युत् खरिद सम्झौता प्रक्रियामा रहेको जानकारी दिँदै उहाँले देवघाट–४ स्थित विद्युत्गृह तथा कर्मचारी आवास क्षेत्रमा पहुँच सुनिश्चित गर्न त्रिशूली नदीमाथि पक्की पुल निर्माण आवश्यक रहेको बताउनुभयो । उक्त पुल निर्माणका लागि करिब ३७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन अन्तिम स्वीकृतिका लागि वन मन्त्रालयमा दस्तुर बुझाइसकिएको तथा जापान अन्तरराष्ट्रिय सहयोग नियोग सँग वित्तीय सहयोगका लागि पहल भइरहेको आयोजनाले जनाएको छ । साथै एसियाली विकास बैंक ले सन् २०२७ मा आयोजना कार्यान्वयनका लागि पाइपलाइनमा राखेको जानकारी पनि आयोजनाले दिएको छ ।

