नयाँ शैक्षिक क्यालेन्डर: दुई दिने सार्वजनिक बिदापछि वार्षिक बिदा कटौती
काठमाडौं,बैशाख ३० । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा लागू गर्ने निर्णय गरेपछि विद्यालय तहको वार्षिक बिदा कटौती गर्ने तयारी गरिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नयाँ शैक्षिक क्यालेन्डर तयार गर्दै वर्षे र हिउँदे बिदा घटाउने निर्णय गरेको हो ।
केन्द्रका अनुसार अब विद्यालयमा शनिबार र आइतबार नियमित सार्वजनिक बिदा हुने भएकाले साबिकमा दिइँदै आएको ४५ दिनको वर्षे तथा हिउँदे बिदालाई घटाएर ३० दिन कायम गरिनेछ । यस सम्बन्धमा केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह तथा सामुदायिक विद्यालयहरूलाई परिपत्रसमेत गरिसकेको छ ।
परिपत्रमा मन्त्रिपरिषद्को दुई दिने बिदासम्बन्धी निर्णय कार्यान्वयन गर्न निर्देशन दिँदै शैक्षिक गतिविधिमा असर नपर्ने गरी बिदा समायोजन गर्न भनिएको छ ।
नयाँ व्यवस्थाअनुसार प्रत्येक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय व्यवस्थापन गर्नुपर्नेछ । सोमबारदेखि शुक्रबारसम्म पूर्ण रूपमा पठनपाठन तथा अन्य शैक्षिक गतिविधि सञ्चालन गरिने उल्लेख गरिएको छ ।
त्यस्तै, पहिलो र दोस्रो त्रैमासिक आन्तरिक मूल्याङ्कन पठनपाठनमा असर नपर्ने गरी सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । शैक्षिक सत्रको अन्तिम १२ दिन अन्तिम परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनका लागि उपयोग गर्न सकिने केन्द्रले जनाएको छ ।

