नुवाकोटको लिखुमा एकीकृत पाठ्यक्रम र भाषा शिक्षण तालिम सम्पन्न
नुवाकोट,बैशाख ३० । नुवाकोटको लिखु गाउँपालिकामा एकीकृत पाठ्यक्रम तथा भाषा शिक्षणसम्बन्धी दुई दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । सोमबार र मंगलबार लिखु गाउँपालिका–४ स्थित क्षेत्रपाल माध्यमिक विद्यालय मा सञ्चालन गरिएको तालिममा लिखुका सबै सामुदायिक विद्यालयका कक्षा १ र २ का भाषा शिक्षकहरूको सहभागिता रहेको थियो ।
तालिममा रुम टु रिड र रुडेक नेपाल ले प्राविधिक सहयोग गरेका थिए भने आर्थिक व्यवस्थापन लिखु गाउँपालिकाको शिक्षा शाखाले गरेको थियो । कार्यक्रममा रुम टु रिडका वरिष्ठ प्रशिक्षक ओम श्रेष्ठ र रुडेक नेपालका फुर्कु घले ले प्रशिक्षण दिनुभएको थियो ।
समापन समारोहलाई सम्बोधन गर्दै लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ ले गाउँपालिकाले आवश्यकता पहिचानका आधारमा सबै क्षेत्रलाई समेट्दै शैक्षिक सुदृढीकरणका योजनामा अघि बढिरहेको बताउनुभयो । उहाँले गाउँपालिकाले कुनै पक्षपात नगरी समावेशी ढंगले काम गरिरहेको उल्लेख गर्नुभयो ।
त्यस्तै शिक्षा शाखा प्रमुख शेरसिंह रावत ले शिक्षकहरू समयअनुसार अद्यावधिक हुन आवश्यक रहेको बताउँदै शैक्षिक गतिविधिमा सधैं तयार रहनुपर्ने धारणा राख्नुभयो । उहाँले बदलिँदो शैक्षिक परिवेशसँग तालमेल गर्न नसक्ने शिक्षकले आत्ममूल्याङ्कन गर्नुपर्ने समेत उल्लेख गर्नुभयो।

