नुवाकोट गोलीकाण्ड: दुई दाजुभाइको हत्या? गाउँमा त्रास



नुवाकोट,बैशाख ३० । नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा बुधबार बिहान भएको गोली प्रहारको घटनाले स्थानीय समुदायलाई गहिरो शोक र त्रासमा डुबाएको छ । सामान्य भनाभनबाट सुरु भएको विवादले अन्ततः दुई दाजुभाइको ज्यान लिएको हो ।

स्थानीयका अनुसार गाउँमै भएको सामान्य विवादपछि स्थानीय धने तामाङले गोली प्रहार गरेको आरोप छ । घटनामा सोही ठाउँका ३५ वर्षीय समराज तामाङ र उनका भाइ सुर्यमान तामाङको मृत्यु भएको वडास्तरबाट पुष्टि गरिएको छ ।

म्यागङ गाउँपालिका–४ का वडाध्यक्ष कमलबहादुर तामाङका अनुसार घटना बुधबार बिहान करिब १२ बजेपछि सार्वजनिक भएको हो । उनका अनुसार सामान्य विवाद अचानक हिंसात्मक मोडमा पुगेको थियो ।

घटनापछि गाउँमा गोली पड्किएको आवाज सुनेको स्थानीयले बताएका छन् । सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगे पनि गोली प्रहारमा संलग्न भनिएका धने तामाङ फरार रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलमा धारिलो हतियार समेत फेला परेको छ । तर मृतक दुवै जनाको शव तत्काल घटनास्थलमै नभेटिएको विषयले अनुसन्धानलाई थप जटिल बनाएको छ । किम्ताङ अहिले शोक र सन्त्रासमा डुबेको छ । स्थानीयवासीहरूले दोषीलाई छिटो पक्राउ गरी कडा कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्