पार्टी नेतृत्वले सबै पक्ष समेटेर एकतामा जोड दिनुपर्छ: कांग्रेस नेता डा. महत
काठमाडौं,बैशाख ३० । डा. प्रकाशशरण महत ले नेपाली कांग्रेसको वर्तमान नेतृत्वले सबै पक्षलाई समेटेर पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले पार्टी एकता कायम राख्न नेतृत्व अझ बढी जिम्मेवार बन्न आवश्यक रहेको बताए। महतले पार्टीभित्र कुनै पनि प्रकारको विग्रह नचाहने स्पष्ट पार्दै आफूहरू सदैव एकताको पक्षमा रहेको उल्लेख गरे।
उनले एक पक्षले मात्र निर्णय गरेर निर्वाचित भएको आधारमा नेतृत्व स्वेच्छाचारी ढंगले चल्न नहुने तर्क पनि प्रस्तुत गरे। पार्टीलाई व्यक्ति होइन, संस्थाका रूपमा बलियो बनाउने अभियानमा आफूहरू लागिरहेको उनको भनाइ थियो।
नेता महतले कार्यकर्ताहरूलाई कुनै पनि दुविधामा नपर्न आग्रह गर्दै पार्टी विभाजन गर्ने कुनै मनसाय नरहेको स्पष्ट पारे। उनले एकताका लागि नेतृत्वले निश्चित आधार तय गर्नुपर्ने र ती आधारप्रति गम्भीर हुनुपर्नेमा जोड दिए।

