ढलान गर्ने क्रममा दुर्घटना : दुई मजदुरको ज्यान गयो
सर्लाही,बैशाख ३० । सर्लाही सदरमुकाम मलङ्गवामा घरको छतबाट खसेर दुई जना मजदुरको मृत्यु भएको छ ।
बुधबार साँझ मलङ्गवा नगरपालिका–१० निवासी रञ्जित यादवको चारतले घरमा पानीट्याङ्की राख्न बनाइएको ढलान प्लास्टर गर्ने क्रममा छत भत्किँदा काम गरिरहेका मजदुरहरू भुइँमा खसेका थिए ।दुर्घटनामा मलङ्गवा नगरपालिका–२ का ५० वर्षीय छोटु साह र हरिपूर्वा नगरपालिका–२ का ४० वर्षीय राजकिशोर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
साँझ पौने ५ बजेतिर भएको घटनामा गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो । तर चिकित्सकले अस्पताल पुग्नासाथ उनीहरूलाई मृत घोषणा गरेका सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सरोज राई ले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार मृतक दुवै जनाको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

