प्रधानमन्त्रीको अनुपस्थितिपछि प्रतिनिधि सभा बैठक स्थगित, भोलि ११ बजे बस्ने



काठमाडौं,बैशाख ३० । प्रतिनिधि सभाको आजको बैठक प्रतिपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ । सभामुख डिपी अर्याल ले बैठक भोलि वैशाख ३१ गते बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको जानकारी दिनुभएको हो ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची रहेको थियो ।तर प्रधानमन्त्री ढिलागरी बैठकमा उपस्थित हुन नसक्ने सूचना आएपछि संसदमा विपक्षी दलहरूले विरोध जनाएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले प्रधानमन्त्री संसदमा उपस्थित भएपछि मात्रै बैठक सञ्चालन गर्नुपर्ने माग गर्दै विरोध गरेका थिए । उनीहरूले बैठकभर उठेर विरोध जनाएपछि संसदको कार्यवाही प्रभावित बनेको थियो ।

सभामुख अर्यालले पटक–पटक सांसदहरूलाई बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । तर विपक्षी दलहरूले अडान नछाडेपछि बैठक दुई पटकसम्म स्थगित गरिएको थियो ।

बैठक सञ्चालनका विषयमा विभिन्न दलका नेताहरूसँग सभामुखले गरेको छलफल पनि निष्कर्षविहीन बनेको थियो । त्यसपछि तेस्रो पटक बसेको बैठकमा पनि अवरोध कायम रहेपछि सभामुख अर्यालले आजको कार्यसूचीका सबै विषय हटाएर भोलिका लागि सारिएको जानकारी दिनुभयो ।

सभामुखका अनुसार भोलि बिहान ११ बजे बस्ने बैठकमा सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथि दर्ता गरेका संशोधन प्रस्तावमाथि छलफल हुनेछ भने प्रधानमन्त्रीले संसदमा उठेका विषयहरूको जवाफ दिने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्