पञ्चकन्यामा वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सुरु



नुवाकोट,बैशाख ३० । नुवाकोटको पञ्चकन्या गाउँपालिका मा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गर्दै उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सुरु गरिएको छ । गाउँपालिकाको रोजगार सेवा केन्द्रद्वारा आयोजित ‘आन्तरिक रोजगार प्रवर्द्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई उद्यमशीलता प्रवर्द्धन कार्यक्रम’ को उद्घाटन गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ को अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विमला केसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, शाखा प्रमुख, कर्मचारी तथा वैदेशिक रोजगारीबाट फर्किएका ३५ जना सहभागीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन गमलामा फूलको बिरुवा रोपेर गरिएको थियो ।अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष विमला केसी तथा प्रमुख प्रशासकीय अधिकृत हिराधन राईले संयुक्त रूपमा बिरुवा रोप्दै कार्यक्रमको शुभारम्भ गरेका थिए ।

उद्घाटनको उक्त शैलीले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको सीप, अनुभव र सम्भावनालाई स्वदेशमै उपयोग गर्दै आत्मनिर्भरता, उद्यमशीलता तथा आन्तरिक रोजगार सिर्जनालाई प्रवर्द्धन गर्ने सन्देश दिएको गाउँपालिकाले जनाएको छ । सहभागीहरूले पनि कार्यक्रमलाई प्रेरणादायी, सन्देशमूलक र प्रभावकारी भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्