छहरे-टोखा अन्तर्गत सेल्फीडाँडामा कार र विद्युतीय गाडी ठोक्किँएर दुर्घटना
नुवाकोट, वैशाख ३१ — छहरे-टोखा सडक खण्ड अन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सेल्फीडाँडामा बुधबार साँझ कार र विद्युतीय गाडी (ईभी) एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ।
काठमाडौंबाट त्रिशूलीतर्फ आउँदै गरेको बा १० च ८८२८ नम्बरको कार र त्रिशूलीबाट काठमाडौं जाँदै गरेको ईभी एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटना साँझ करिब ७ बजे भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न कार चालक नवलपुरको कावासोती नगरपालिका–१७ निवासी ४२ वर्षीय सुर्यमान श्रेष्ठ रहेका छन् भने ईभी चालक नुवाकोटको लिखु गाउँपालिका–६ निवासी सरोज विक रहेको बताइएको छ।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको गुर्जे ट्राफिक प्रहरी चौकीका ट्राफिक हवल्दार चन्द्रबहादुर तामाङले जानकारी दिएका छन्। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

